शनिबार, असार ७, २०८२

चेम्बरको आयोजनामा महिला उद्यमशीलता विकासका लागि तालिम

नेपालखोज २०७९ असार २४ गते १३:१९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ ।

उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायत विभिन्न ६ क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलालाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । चेम्बरले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्प सुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलालाई आग्रह गरे । महिलाद्वारा उत्पादित वस्तुहरूको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘महिला दिदीबहिनीहरूले उत्पादन गरेका वस्तुहरू उत्पादनस्थलदेखि बजारीकरणसम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य वस्तुहरूको प्रशोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ ।’

आर्थिक क्षेत्रमा महिलाहरूको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्नसमेत उल्लेख्य योगदान रहेको बताए । उनले अपांगता भएका महिलालाई उद्यमशीलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताए । चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्त्वपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरूलाई बजारको मागअनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरूलाई कम्तिमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तीकरण गर्न विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया