एपीएफ स्कुल कीर्तिपुर परिसरमा गरियो वृक्षरोपण

काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कुल कीर्तिपुर परिसरमा आज (शनिबार) वृक्षरोपण गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त वृक्षरोपण कार्यक्रममा धुपी, अम्बा, सिरिस, कपुर र असारे फूल गरी ५३ वटा बिरुवा रोपिएको हो । त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा संवर्द्धनमा संघले देखाएको अग्रसरताप्रति आभार व्यक्त गरे । यस्ता सामाजिक कार्यमा संघको सक्रिय सहभागिता निरन्तर रहिरहने विश्वास रहेको उनले बताए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले वृक्षरोपणले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक र वातावरणमैत्री कार्यक्रमका लागि नगरपालिकाको साथ र सहयोग रहिरहने बताए ।

स्वागत मन्तव्यका क्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले वातावरण संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताए । वृक्षारोपणमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय किशोरकुमार लामा र सिंहबहादुर श्रेष्ठलगायत सशस्त्रका वरिष्ठ अधिकृतहरू, संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी र विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता थियो ।
सशस्त्र प्रहरी बलले कल्याणकारी सेवा केन्द्रमार्फत काठमाडौंको कीर्तिपुर, सप्तरीको शम्भुनाथ नगरपालिका र बाँकेको कोहलपुरमा एपीएफ स्कुलमार्फत आवासीय सुविधासहित वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिहरू तथा सर्वसाधारण नागरिकका जेहेनदार बालबालिकालाई समेत उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।










प्रतिक्रिया