शनिबार, पुष ५, २०८२

लाखौं मूल्यबराबरका अवैध सामग्री सशस्त्रको नियन्त्रणमा

नेपालखोज २०७९ असार २५ गते १८:१३

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका ५, धर्मौली इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८ हजार रुपैयाँबराबरको अवैध चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याएर लुकाइ–छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटबाट खटिएको टोलीले २३६ बोरा चिनी शुक्रबार बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवप्रसाद पौडेलको कमान्डमा खटिएको टोलीले शनिबार करिब एक लाख ४३ हजार रुपैयाँबराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ ।
अवैध रुपले लुकाइ–छिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ३, बेलासपुर चोकबाट बरामद गरेको हो ।

त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६, मेचीडाँडास्थित सीमा इलाकाबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले करिब एक लाख २५ हजार रुपैयाँबराबरको चोरी–निकासीको २५० केजी सुपारी बरामद गरेको छ ।

नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागेको अवस्थामा उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बीओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला सुपारी लैजाँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सुपारी सोही ठाउँमा छाडेर फरार भएका थिए । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया