‘किसुनजीको जीवनी प्रेरणाको स्रोत हो’

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) को जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् ।
मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौंवासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पूरा गर्ने बताए । उनले दुई पटकसम्म प्रधानमन्त्री भएका दिवंगत कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिका रूपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै भट्टराईजस्ता त्यागी राजनेता पाउन कठिन भएको बताए ।
काठमाडौंको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किसुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकरकै पालामा हुने बताए । मन्त्री चौधरीले एसियाली विकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आएबमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवर्क्स क्षेत्रको मर्मत–सम्भार गरी स्थायी रूपमा पानी काठमाडौं पथान्तरण गरिने बताए ।
उनले मेलम्चीको विकल्पमा वाग्मतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौं ल्याइने बताए ।
प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंवासीको घर–घरमा पुर्याएको खण्डमा किसुनजीको सपना पूरा हुने बताए ।
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले किसुनजी स्वच्छ छविको निष्कलंक र सन्त नेता भएको जनाउँदै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना पूरा गर्न लागेकामा मन्त्री र सरकारलाई धन्यवाद दिए ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव विनोद भट्टराईले प्रधानमन्त्री भइसक्दा पनि बालुवाटारबाट निस्कँदा आफ्नो निजी सम्पत्तिका रूपमा सुराही, छाता र टिनको बाकस मात्र लिएर गएको बताए । निजी सम्पत्ति आर्जनमा कहिल्यै ध्यान नदिने भट्टराई इमानदारीको प्रतिमूर्ति भएको उनले बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको सञ्चालन र संरक्षण गर्ने बताए ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमूर्ति भएको जनाउँदै जनस्तरबाटै आलोचना र विरोध नखेपेका नेपालका एकमात्र प्रधानमन्त्री भएको दाबी गरे । उनले किसुनजीजस्ता त्यागी नेतालाई सम्झिएकामा खानेपानीमन्त्री र मन्त्रालयप्रति आभार व्यक्त गरे ।
कांग्रेस काठमाडौंका सचिव दीपक पुडासैनीले मेलम्चीको पानी काठमाडौं ल्याएर सडक पखाल्ने योजना सुनाउँदा मन्त्रीविरोधीले अनेक आलोचना गर्ने गरेको तर आज किसुनजीको सपना पूरा भएको बताए ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्रिपरिषदले गरेको निर्णयबमोजिम जिम्मेवारी पूरा गर्न मन्त्रालय तयार भएको बताए ।
मेलम्ची खानेपानी विकास समितिको एक करोड रुपैयाँ बढीको लागतमा निर्माण गरिने शालिकसहितको पार्क निर्माण यही मंसिरसम्म गरिसक्ने लक्ष्य छ ।
मेलम्ची र किसुनजीबीचको सम्बन्ध
काठमाडौं उपत्यकामा खानेपानीको अभावका कारण माग बढ्दै गएको सन्दर्भमा २०४६ सालको सफल जनआन्दोलनपछि २०४७ सालमा निर्माण भएको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी काठमाडौंवासीको उपयोगका लागि ल्याउने महत्त्वकांक्षी योजना घोषणा गरेका थिए ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउन परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनजिक मुहान (हेडवर्क्स) निर्माण गरी २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा भित्र्याउने उद्देश्य थियो ।
यसअघि सन् १९८८ मा बिन्नी एन्ड पार्टनर्स नामक बेलायती संस्थाले उपत्यका र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीको स्रोत अध्ययन गर्दा मेलम्ची नदीको उपयोगलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतका रूपमा पहिचान गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री भट्टराईको महत्त्वकांक्षीय घोषणापछि सन् १९९२ मा अस्ट्रेलियाको स्मेक कन्सल्टेन्टले मेलम्ची नदी डाइभर्सन स्किमको अध्ययन गरी ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदीसहित लाङटाङ नदी पम्पिङका आधारमा इन्दावती, त्रिशूली, कुलेखानीसहित अन्य खोला तथा नदीको अधययनले मेलम्चीलाई नै सबैभन्दा उत्तम ठहर गरेको थियो ।
सोही अध्ययनका आधारमा एडीबीको संयोजकत्वमा नर्वेजियन विकास संस्था (नोराड), स्विडिस विकास संस्था (सिडा), जापानी संस्था (जेविक) र विश्व बैंकले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको लागि विस्तृत अध्ययन गरेको थियो ।
तत्पश्चात, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि २०५६ सालमा (सन् १९९८ अगस्तमा) तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालय मातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।
त्यसलगत्तै (सन् १९९९) विश्व बैंक र नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन र सोही अध्ययनका आधारमा सन् २००१ मा एसियाली विकास बंैंकले आयोजनामा लगानी गर्न सहमत भएपछि एक सय २० मिलियन डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत रुपमा सुरु भएको हो ।
मेलम्ची खानेपानी आयोजनाको अर्को मुख्य संरचनामा पानी प्रशोधन केन्द्रको निर्माण जापान सरकारको जाइका संस्थामार्फत सुन्दरीजलस्थित यो महाकाल फाँटमा दुई सय ३८ रोपनीमा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

मेलम्चीको पानी २०७७ फागुन २२ गते हतारमा काठमाडौं पथान्तरण गरिएको थियो भने सोही वर्षको चैत २० गते उपत्यकामाका धारामा मेलम्चीको पानी छाडिएको थियो । मेलम्चीको हेडवर्क्समा गत वर्ष असार १ गते आएको बाढीले हेडवर्क्स क्षेत्रसहित अन्य संरचनामा क्षति पुर्याएको थियो । त्यसपछि सरकारले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण गरी २०७८ साल चैतमा मेलम्चीको पानी काठमाडौमा पथान्तरण गर्न सफल भएको थियो ।
हेडवर्क्स क्षेत्रमा सम्भावित बाढीका कारण कुनै क्षति नहोस् भन्ने मनसायले सरकारले गत जेठ दोस्रो साता सुरुङको ढोका बन्द गरी काठमाडौंमा पानी पथान्तरण कार्यलाई स्थगित गरिएको थियो ।








प्रतिक्रिया