शुक्रबार, पुष ४, २०८२

राष्ट्र बैंक भन्छ- वर्तमान सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

नेपालखोज २०७९ असार २७ गते १८:५४

काठमाडौं, विदेशी मुद्राको सञ्चितीमा निरन्तर गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तनमा आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव नौं प्रतिशतले घटेर २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९ दशमलव छ प्रतिशतले कमी आई नौं अर्ब ४५ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा छ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ ।

२०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४ दशमलव तीन प्रतिशत, ५६ दशमलव एक प्रतिशत र २२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव सात प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया