शुक्रबार, पुष ४, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ असार २९ गते ६:३९

काठमाडाैं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संदद् सचिवालयले जनाएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आजैकाे बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत् गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया