शुक्रबार, पुष ४, २०८२

कुमारी बैंकको आकर्षक धनवृद्धि मुद्दती निक्षेप योजना, यस्ता छन् विशेषता

नेपालखोज २०७९ असार २९ गते १६:५७

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरूको घोषणा गरेको छ । यो योजनामा इच्छुक व्यक्ति तथा संघ-संस्थाहरू समावेश हुन सक्नेछन् ।

उक्त मुद्दती निक्षेप योजना दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघ-संस्थातर्फ लक्षित छन् । निक्षेप योजनाअनुसार व्यक्ति तथा संघ-संस्थाहरूले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टीपश्चात्) प्राप्त गर्न सक्नेछन् ।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । उल्लिखित मुद्दती योजनाहरू सीमीत अवधिका लागि मात्र लागू हुनेछन् ।

नेपाली वित्तिय क्षेत्रमा हालसम्मकै व्यक्तिगत एवं संस्थागत मुद्दतीमा उच्चतम ब्याजदर दिनेमध्येमा यी योजनाहरू पर्छन् । वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफलसहितको यो योजनामा समावेश हुने संघ–संस्थाहरूले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

आफ्ना १९७ शाखा सन्जाल, १८१ एटीएम, ४५ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा–सुविधा प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया