शुक्रबार, वैशाख १२, २०८२

हिमालयन र सिभिल गाभिने, स्वाप रेसियो कति ?

नेपालखोज २०७९ असार २९ गते १७:१२

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक गाभिने भएका छन् । गाभिनका लागि आज हिमालयन बैंक र सिभिल बैंकले प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्राप्तिसम्बन्धी सम्झौतामा हिमालयन बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिलका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका हुन् । हिमालयन र सिभिलबीच १००:८० को अनुपातमा सेयरको स्वाप् रेसियो कायम गर्ने सहमति भएको छ । सहमतिअनुसार सिभिल बैंकको एक सय कित्ता सेयर हुने लगानीकर्ताले हिमालयन बैंकको ८० कित्ता सेयर पाउनेछन् ।

एकीकृत कारोबारपश्चात बन्ने बैंकको नाम पनि हिमालयन नै रहनेछ भने सञ्चालक समितिमा हिमालयन बैंकको वर्तमान सञ्चालक समितिले निरन्तरता पाउनेछ । एकीकृत कारोबारपश्चात बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नै निरन्तरता पाउनेछन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारीका रूपमा रहनेछन् ।

यसअघि गत शुक्रबार नै प्राप्तिसम्बन्धी सम्झौता गर्ने तयारी गरेका थिए । तर अन्तिम चरणमा सेयरको स्वाप रेसियो, कर्मचारीहरूको समायोजन आदि विषयमा कुरा नमिलेपछि यसअघि प्राप्तिसम्बन्धी प्रक्रिया अवरुद्ध भएको थियो । यसरी प्राप्तिसम्बन्धी प्रक्रिया अवरुद्ध भए पनि दुवै बैंकका सञ्चालकहरूको लगातारको छलफलपछि सहमति भएको हो ।

प्रतिक्रिया