शुक्रबार, पुष ४, २०८२

संसद्‌मा पेस भयो सार्वजनिक लेखा समितिको प्रतिवेदन

नेपालखोज २०७९ असार ३० गते १७:१४

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गरे।

उनले प्रतिवेदन पेश गर्नुअघि नेकपा एमालेका सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गरे । उनले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गरेका हुन् ।

त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम हेरफेर गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका चार विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।

सचिव योगीले प्रस्तुत गरेको विधेयकमा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ छन् ।

प्रतिक्रिया