बिहीबार, जेठ २, २०८२

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्ष सिंगापुरमा

नेपालखोज २०७९ असार ३० गते २१:०६

काठमाडाैं । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिंगापुर पुगेका छन् । उनलाई नीति भ्रमणका लागि सिंगापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिंगापुर गएकाे मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिंगापुर पुगेका स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् । राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

उनीको गन्तव्य सिंगापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ । आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए ।

त्यहाँ उनी एक दिन बसेर सिंगापुर पुगेका हुन् । उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ । सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिए ।

प्रतिक्रिया