शुक्रबार, पुष ४, २०८२

वैदेशिक रोजगार बोर्डको आर्थिक वर्षको १ अर्ब ५८ करोड १६ लाख बजेट स्वीकृत

नेपालखोज २०७९ असार ३० गते २१:२५

काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । श्रम मन्त्रालयमा बिहीबार बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामि आर्थिक वर्ष २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । बोर्डले विशेषगरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोज गरेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मार्यादित र सम्मानित बनाउनका लागि बोर्डले आगामि दिनमा विषेश काम गर्ने बताएका छन् । उनले बोर्डबाट प्रवाह हुने सेवालाइ सरल, सहज र प्रविधिमैत्री बनाइ सुशासन प्रवर्द्धन गर्नका लागि पहल गर्ने बताए । अहिले पनि बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले थुपै समस्या भोगिरहेकाले उनीहरुका समस्यालाई पनि बोर्डले सम्बोधन गर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई मन्त्री कुँवरले आग्रह गरेका छन् ।

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रर्वधन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । बोर्डको नियमित कार्य संचालन बैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ ।

बोर्डको अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् भने, बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया