‘पर्यटन पूर्वाधार र जलविद्युत्मा लगानी गर्नूस्’

काठमाडौं । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैंकले बेलायतको लन्डनमा बृहत् अन्तर्क्रिया गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लन्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो । साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आह्वानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगो रूपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत् आयोजनामा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए ।
‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका सातै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैरआवासीय नेपालीसँगको सहकार्यमा लमजुङमा निर्माण भएको जलविद्युत् आयोजना सम्पन्न हुने क्रममा छ भने म्याग्दीको कालीगण्डकी नदीमा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्दै छौ,’ उनले भने, ‘तपाईंहरूले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’
उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैरआवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीलाई आग्रहसमेत गरे । ‘यता विदेशमा विनाब्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामै राख्ने हो भने त्यसको ब्याजसमेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,’ उनले भने ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताए । ‘यसका लागि तपाईंहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्यो,’ उनले भने । बेलायतस्थित नेपाली दूतावासका डीसीएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैरआवासीय नेपालीलाई समेत आग्रह गरे । डीसीएम खनालले ग्लोबल आईएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रशंसा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।
उनले बैंकको यस पहलले अहिले मुलुकभित्र देखिएको विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सहयोग पुग्ने विश्वाससमेत राखे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज वज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रकाश पारेका थिए । अन्तर्क्रियामा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लन्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष्य गुरुङ, टीएनबी ग्यारिसनका कमान्डिङ अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।
उनीहरूले बैंकले विदेशमा रहेका नेपालीको सेवा र सजिलोका लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकामा बैंकको प्रशंसा गर्दै यसले गैरआवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताए । कार्यक्रममा बैंकका यूके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रकाश पार्दै बैंकका सेवाबारे प्रस्तुतीकरण गरेका थिए ।
मुलुकभित्र ७७ जिल्लामा २८९ शाखा रहेको नेपालकै पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया