बुधबार, वैशाख १७, २०८२

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

नेपालखोज २०७९ साउन १ गते १२:०८

काठमाडौं । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा चहलपहल बढेसँगै महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चन्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका छन् । चन्द्रमास अनुसार यस वर्ष असार ३० देखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।

साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउने भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ ।

पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ । उक्त स्थानमा साउनको सोमबार विशेष भीड लाग्ने गर्छ । यस वर्ष साउन महिनामा पाँचवटा सोमबार परेको छ । पाँचवटा सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

धार्मिक संस्थाहरुको आयोजनामा यस वर्ष साउन महिनाको अवसर पारेर अतिरुद्राभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुसी पार्न शुद्ध जल मात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ । यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् ।

साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ । -रासस

प्रतिक्रिया