बिहीबार, असार १९, २०८२

भारतमा १६ हजार ९३५ जना कोरोना

नेपालखोज २०७९ साउन २ गते १७:३५

नयाँदिल्ली । भारतमा गत चौबिस घण्टामा १६ हजार ९३५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

यसअघि एक दिनमा २० हजार पाँच सय २८ संक्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो । भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको 0.३३ प्रतिशत भएको जनाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ ।

पछिल्लो एक दिनमा १६ हजार ६९ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ९७ हजार ५१० पुगेको छ । कोरोना भाइरस सङ्क्रमण निको भएको यो दर ९८.४७ भएको जनाइएको छ ।

बितेका २४ घण्टामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार ७६० जनाको मृत्यु भएको छ । माहामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब भन्दा बढी मात्रा खोप लगाइएको छ ।

प्रतिक्रिया