शनिबार, पुष ५, २०८२

मञ्चले भन्यो- हरुवाचरुवाको पुनःस्थापना तत्काल होस्

नेपालखोज २०७९ साउन ३ गते १६:३२

काठमाडौं । राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चले हरुवाचरुवाको पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै मञ्चले हरुवाचरुवा मुक्तिका लागि पुनःस्थापनासँगै बजेटसहितको कार्ययोजना बनाउन पनि माग गरेको छ ।

सरकारले गत असार २ गते मात्र हरुवा-चरुवा मुक्तिको घोषणा गरेको हो । मुक्तिसँगै प्रधानमन्त्रीले घोषणा गरेका चारबुँदे संकल्प प्रस्तावका रुपमा व्यवस्थापिका संसद्‌बाट पारित गर्नसमेत मञ्चले माग अघि सारेको छ । मुक्त घोषित हरुवाचरुवाको शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि मञ्चले आग्रह गरेको छ । मञ्चका अध्यक्ष दर्शन मण्डलले सरकारले कृषियोग्य जमिन, हरुवाचरुवाहरुलाई राहत नदिएसम्म आफूहरु चुप लागेर नबस्ने बताए । सरकारले चाँडोभन्दा चाँडो पुनःस्थापना गर्न पर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले गर्छु भनेको छ र हामीलाई विश्वास लागेको छ । हामी चाँडै मुक्त हुन चाहन्छौ ।’

पत्रकार सम्मेलनमा वस्तुस्थिति अध्ययन समिति सदस्य तथा पूर्वसांसद हरि श्रीपाइलीले अवशेषमा रहेको दासप्रथाको उन्मूलन गरेकामा सरकारलगायत आन्दोलनमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफूहरु दुई वर्षको हरुवाचरुवा आन्दोलनबाट मुक्त घोषणा गराउन सफल भएको दाबी गरे ।

श्रीपाइलीले हरुवाचरुवाको मुक्तिको घोषणालाई व्यवहारमा तत्काल लागु गर्न सरकारसँग आग्रह गरे । उनले केन्द्रीय तथा प्रदेश स्तरमा अधिकार सम्पन्न संरचना बनाउनुपर्नेमा जोडसमेत दिए । उनले कानुन अनुसारका प्रभावकारी ढंगले कार्यान्वयन गर्न मुक्त कमैया, कमलरी, हलिया र हरुवाचरुवा सम्बन्धमा विस्तृत कार्ययोजना र नीति बनाएर मन्त्रिपरिषद्‌बाट पारित गर्न सरकारलाई सुझाए । मन्त्रिपरिषद्‌बाट पारित गरेर त्यसलाई लागु गर्न कानुनअनुसारका प्रभावकारी ढंगले कार्यान्वयन गर्न पर्ने उनको भनाइ थियो ।

यसैगरी, मञ्चका महासचिव लागिन्द्र सदाले आफूहरुको माग सरकारले कार्यान्वयन नगरे काठमाडौं घेराउ गर्ने चेतावनी दिए । उनले आफ्ना पुस्तौं-पुस्तौं परिवार मालिकको घरको काम गर्न बाध्य भएको सुनाए । प्रत्येक हरुवाचरुवा, कमैया, कमलरीलगायतको सबै मिलेर संगठन बनाएर सरकारलाई निरन्तर दबाब दिँदै आइरहेको उनले बताए । उनले हरुवा चरुवाको जबसम्म पुनःस्थापना हुँदैन तबसम्म आफूहरु निरन्तर लागिरहने बताए ।

यसैगरी, अधिवक्ता बालाराम भट्टराईले हरुवाचरुवालाई मुक्ति भएको अनुभूति हुने गरी पुनःस्थापनाका कार्यक्रम तत्काल ल्याए मात्रै सफलता मिल्ने बताए । कमैया भन्नाले हरुवाचरुवा, कमैया, कमलरी सबैलाई जनाउने भन्दै उनले २१ वर्षपछि सरकारले मुक्ति घोषणा गरेकामा धन्यवाद दिए । अब पनि सरकारलाई निरन्तर दबाब दिन नसके कमैया, हलिया,कमलरीको जस्तै मुक्ति घोषणा गरे जस्तै कार्यान्वयनमा समस्या हुने उनले बताए ।

त्यस्तै, फ्रिडम फन्डका कार्यक्रम सल्लाहकार जियस श्रेष्ठले सरकारले हरुवा चरुवामुक्ति घोषणा गरेकामा आफू निकै खुसी भएको बताए । उनले हरुवाचरुवा मुक्ति आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिए । नेपालमा दासप्रथा उन्मूलन भएको पहिल्यै दाबी गरिए पनि कार्यान्वयन नभएको उनले टिप्पणी गरे । अहिले बल्ल सरकारले हरुवाचरुवा मुक्तिका लागि एक पाइला मात्र अघि सारेको उनको भनाइ थियो । उनले कमैया मुक्तिको घोषणा २०५७ सालमा भए पनि कमैयाहरुको अहिलेसम्म पुनःस्थापना हुन नसकेको बताए ।

यसैगरी, दलित गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष गजाधर सुनारले ढिलै भए पनि हरुवाचरुवा मुक्ति अभियानले सफलता पाएको बताए । उनले भने, ‘यो घोषणाले मात्रै पुग्दैन र उहाँहरुको अधिकारका कुरा, पुन:स्थापना, शिक्षा स्वास्थ्य, रोजगारीबारे रणनीतिक योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।’ उनले हरुवाचरुवा मुक्त घोषणा गरेकामा प्रधानमन्त्री र सरकारलाई पनि धन्यवाद दिए ।

त्यस्तै, राष्ट्रिय दलित नेटवर्क आइडिया नेपालका केन्द्रीय अध्यक्ष गणेश विकले कमैयाको मुक्ति घोषणा गरेको धेरै वर्ष भए पनि उनीहरुको समस्या अझै नसल्टिएको भन्दै दुःख व्यक्त गरे । विगतको अनुभवका आधारमा सरकारले एउटा योजना बनाए यो विषयलाई महत्त्वपूर्ण प्रस्ताव बनाएर संसद्‌बाट पास गर्नूपर्ने आफुहरुको माग भएको बताए ।

प्रतिक्रिया