आइक्यानको शपथ ग्रहण कार्यक्रममा बीपीए अवार्ड बाँडियो

काठमाडौं । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्करसिंह लाला र उपाध्यक्षमा सुजनकुमार काफ्ले निर्वाचित भएका छन् । केही समयअघि भएको निर्वाचनमा लाला निर्विरोध निर्वाचित भएका हुन् भने काफ्ले प्रतिद्वन्द्वी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए ।
यसैबीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुवैले आफ्नो पद तथा गोपनीयताको शपथ खाएका छन् । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ खाएका हुन् । शपथ ग्रहणपछि आइक्यानका अध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै यस काममा सबैलाई साथ दिन आह्वान गरेका छन् ।
उनले आफूलाई उपाध्यक्ष हुँदा सबैभन्दा बढी साथ दिने संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओलीलगायत आइक्यानका सबै कर्मचारी तथा अन्य सरोकारवालालाई धन्यवादसमेत दिएका थिए । आफूलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गराउन सहयोग दिने सबैप्रति आभार प्रकट गरेका उनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष काफ्लेले पनि आफूलाई संस्थाको उपाध्यक्ष पदमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिए । संस्थाको उपाध्यक्ष भएसँगै जिम्मेवारी पनि बढेको बताउँदै उनले आफूले भ्याएसम्मको काम गरेर लेखा व्यवसायको सेवा गर्ने बताएका छन् ।
उपाध्यक्ष काफ्ले अब आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका सञ्चालकसमेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष सञ्चालकका रूपमा संस्थाको प्रतिनिधि भएर जाने चलन छ । साथै कार्यक्रममा २० वर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो । संस्थामा सुरुवाती चरणदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्वकार्यकारी निर्देशकलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरुलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डसमेत प्रदान गरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्रतर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोस्रो र तेस्रो अवार्ड प्राप्त गरेका छन् ।
यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ । बैंकले तेस्रोपटक यो अवार्ड हात पार्न सफल भएको हो । यस्तै अवार्डमा ज्योति विकास बैंक लिमिटेड दोस्रो बन्न सफल भएको छ । यता, इन्स्योरेन्सतर्फको अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेस्रो अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
यस्तै जनरलतर्फ दोस्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ । बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हासिल गर्दै अवार्ड प्राप्त गरेको छ ।








प्रतिक्रिया