शुक्रबार, वैशाख १२, २०८२

कुन बैंकले कति कमाए ? (तालिकासहित)

९ बैंकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक : ग्लोबल आईएमईको नाफा उच्च, एनआईसी एसिया दोस्रो स्थानमा

नेपालखोज २०७९ साउन ९ गते १५:२१

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये नौवटाले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार आर्थिक वर्षको अन्तिम त्रैमासको प्रतिवेदन त्रैमास सकिएको २१ दिनभित्रमा प्रकाशन गरिसक्नु पर्नेछ । सोअनुसार साउन ९ गते अर्थात् आज (सोमबार) सम्ममा नौ वाणिज्य बैंकले आर्थिक वर्ष ०७८/७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये सबैभन्दा बढी नाफा भने ग्लोबल आईएमई बैंकले कमाएको छ । एक दर्जनभन्दा बढी बैंकलाई आफूमा गाभेको ग्लोबलले आव ०७८/७९ मा पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने ग्लोबलको यस्तो नाफा चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो । खुद मुनाफा आर्जनमा एनआईसी एशिया बैंक भने दोस्रो स्थानमा परेको छ । एनआईसी एशियाले आव ०७८/७९ मा चार अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा तीन अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये प्रभु बैंक भने बढी नाफा कमाउने तेस्रो ठूलो बैंक बनेको छ । प्रभुले आव ०७८/७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने प्रभुको यस्तो नाफा एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ थियो । सानिमा बैंकले भने आव ०७८/७९ मा दुई अर्ब २९ करोड २९ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सानिमाको यस्तो नाफा दुई अर्ब ७१ करोड ७८ लाख २१ हजार रुपैयाँ थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भने आव ०७८/७९ मा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने सिटिजन्सको यस्तो नाफा एक अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ थियो ।

माछापुच्छ्रे बैंकले भने आव ०७८/७९ मा दुई अर्ब १६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा एक अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ थियो । सनराइज बैंकले भने आव ०७८/७९ मा दुई अर्ब १५ करोड नौ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सनराइजको यस्तो नाफा एक अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ थियो । यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंकले भने आव ०७८/७९ मा दुई अर्ब दुई करोड २२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ थियो ।

हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये सबैभन्दा कम नाफा भने लक्ष्मी बैंकले कमाएको छ । लक्ष्मीले आव ०७८/७९ मा एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५६ लाख ६१ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया