आइतबार, पुष ६, २०८२

ज्योति विकास बैंकले १४औं वार्षिकोत्सवकाे अवसरमा सुरू गर्‍याे भिडियो बैंकिङ सेवा 

नेपालखोज २०७९ साउन ९ गते १९:१८

काठमाडौं । ज्योति विकास बैंकले सोमबारको दिन स्थापनाको १४औं वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव राज भट्टराईको पनि उपस्थिति रहेको थियो ।

१४औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति Video Banking काे पनि सार्वजनिक गरेको छ । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाईसी सार्वजनिक गरेको हो । यस पश्चात् देश–विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन् । सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।

समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रर्वधन कोष’ मार्फत राधा पौडेल फाउन्डेसनसँग ‘मर्यादित महिनावारी’ सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ । कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ ।

डल्लु शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रव कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

डल्लु शाखा उद्घाटन् पश्चात् उपत्यका र उपत्यकाबाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।

प्रतिक्रिया