आइतबार, पुष ६, २०८२

आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

नेपालखोज २०७९ साउन ११ गते १५:५५

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आर्थिक वर्ष ०७७/७८ (२०२०/२१) मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले कम्पनीलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिबेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्यूठान तथा अर्घाखाँचीका करिब ६० हजार ग्राहकलाई विद्युत् वितरण गरेको छ । हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ । पूर्वनिर्माणको चरणमा रहेका मर्स्याङ्दी बेसिनस्थित करिब ६०० मेगावाटको तीनवटा जलविद्युत् आयोजनामा समेत लगानी रहेको छ ।

प्रतिक्रिया