एसईईको नतिजा किन खस्कियो ? के भन्छन् सरोकारवाला ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा निराशजनक नरहेको स्पष्ट पारेका छन् । उनले एसईईको नतिजामा सन्तोष गर्ने ठाउँ धेरै रहेको जिकिर गरे । एसईईको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘क्लबले आज जुन कार्यक्रमको आयोजना गरेको छ, यसप्रति म आभारी छु, क्लबले बेला बेलामा शिक्षा प्रणालीको सन्दर्भमा खासगरी यसको सुधारको सन्दर्भमा विभिन्न सरोकारवालाहरु राखेर घच्घचााउने काम गर्नुपर्छ । र, त्यसबाट आउने सुझाव आम नागरिकको बीचमा राख्न सकियो भने यसले हाम्रो शिक्षा प्रणालीमा सुधार गर्न मद्दत पुग्दछ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उनले अहिले देशको शिक्षा प्रणालीमा देखिएको समस्याको जिम्मेवारी सबैले लिनुपर्ने पनि बताए । उनले भने,‘हामी समग्रमा जिम्मेवार छौं । नेपालको शिक्षा क्षेत्र चासोको रुपमा हेरिएको छ । एस.इ.इको नतिजा हेरेर विद्यार्थी स्वयमलाई के थाहा हुन्छ भने उ विद्यालय तह पार गरिसकेपछि म कहाँ पुग्छु भन्ने कुरा पनि छ । यो परिक्षाको कुरा गर्दा विद्यार्थीले आफ्नो स्तर हेर्ने मुख्य परीक्षा हो ।’
एसईईको नतिजाबारे बाहिर आलोचना भएको भएपनि उनले भने नतिजाबारे सन्तोष व्यक्त गरे । उनले भने,‘कोभिडको महामारीबाट विद्यार्थीले दुई वर्ष पढ्न नपाएको अवस्था थियो । यो वर्षपनि कोभिडको प्रभाव थियो । विद्यालयमा जुन किसिमको सिकाई हुन सकेको थिएन । शिक्षक भएकै ठाउँमा पनि विद्यार्थीले जति समय पढ्न पाउनुपर्दथ्यो, त्यति समय पढ्न पाएनन् । यसले विद्यार्थीको पठनपाठनमा असर पुर्याएको थियो । एसईई भनेको आन्तरिक होईन, यो त बाहृय परीक्षा हो । ५ लाख विद्यार्थीलाई जुन किसिमको वातावरणमा परीक्षा लिएका छौं । वातावरणको कुराले पनि रिजल्टलाई पनि असर पार्न सक्छ ।’
उनले कक्षा कोठाभित्र हुने सिकाई अनुसार नै नजिता आउने बताए । उनले भने,‘हाम्रा विद्यार्थील जति सिकेका छन्, त्यस्तै नतिजा आएको हो । यो नतिजाले माथिल्लो ग्रेड पाउने विद्यार्थीको संख्या निकै कम देखाएको छ । यो तथ्यांक हो । हाम्रो शिक्षा नीति खासगरी यसको नीतिगत रुपमा कार्यान्वयन गर्ने ठाउँमा कमजोरी छ । यसमा सबै पक्ष मिलेर सुधार गर्नुपर्छ । कतिपय ठाउँमा स्रोतको व्यवस्थापन गर्ने कुरा छ । शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्छ । नीति रिभ्यु गर्न जरुरी छ । नतिजा मात्रै विश्लेषण गरेर पुग्दैन् । हामी अहिलेसम्म जसरी अघि बढेका छौं, कहीँकतै कमजोरी छन् । सम्बन्धित ठाउँका सम्बन्धित व्यक्तिले सुधारगर्दै जानुपर्छ ।’
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एस.इ.ईको हिजो प्रकाशित नतिजा सुखद् नभएको टिप्पणी गरेका छन् । उनले २०७५ र २०७८ नतिजा विश्लेषण गर्दा अहिलेको परीक्षाफल राम्रो नभएको दाबी गरे । उनले भने,‘ए प्लस, ए, बि प्लस ल्याएर पास हुने विद्यार्थी जो छन, त्यो प्रतिशत घटेको छ । हाम्रो परिक्षाफल राम्रो भएन । कोभिडले गर्दा राम्रो भएन भन्ने कुरा पनि आएको छ । १० कक्षा र १२ कक्षाको रिजल्टको तुलनात्मक अध्ययन गरौं । हाम्रो शिक्षा फिलियर भएको उदाहरण छ ।’सिलवालले अनलाईन कोर्श प्रभावकारी हुन नसकेको हो कि भन्ने पनि प्रश्न उठाए । उनले भने,‘अनलाईन कोर्स प्रभावकारी भएनन् की भन्ने पनि कुरा उठेको छ । फेस–टु–फेस कक्षाजस्तो प्रभावकारी भएनन् की ? कोभिडको बेलामा अनलाईन कोर्स सञ्चालन भएको हो । हिजो ८, ९ मा अनलाईन क्लासमा युज्डटु भएकाहरु अहिले एसईई विद्यार्थी हुन् । हामीले त हाम्रो सिकाईको प्रभावकारिता पनि खोज्नुपर्छ । हाम्रो सिकाईको स्तर राम्रो भएन की ? अब राज्यले खोज्नुपर्छ । शिक्षकले पढाएनन् कि ? व्यवस्थापन चुस्तदुरुस्त भएन कि ? यो कुराको निमर्मतापूर्वक समक्षिा हुनुपर्छ । योपटक यस्तै भयो, अर्कोपटक सुधार हुन्छ भनेर सरकारी निकायका अधिकारीले भनेको पनि सुनियो, यो दुःखद् कुरा हो । शिक्षा सचिवलगायतले समिक्षा गरेको खोई ?’
उनले आफूहरुले परीणाममुखी र गुणस्तरीय शिक्षा चाहेको सुनाए । उनले भने,‘हाम्रो एजुकेशन सिस्टम फेलियर भएको छ । ७ वटै प्रदेशको रिजल्ट देखिएको छ । ७ वटै प्रदेशमा गुणस्तर राम्रो छैन् । कर्णाली र सुदुरपश्चिमको कुरा गर्दा त्यहाँ नतिजाको स्तर धेरै नै खस्किएको छ । स्थानीय निकायको ध्यान पुगेन कि ? यसबारेमा पनि हामीले हेर्नुपर्छ । छात्र र छात्राको स्थिति हेर्दा, माथिल्लो ग्रेडमा फिमेल कमजोर देखिएको छ । अझैपनि छोरालाई बोर्डिङ पढाउने र छोरीलाई साधारण स्कुल पढाउने देखिएको छ ।’ सिलवालले सामूदायिक र निजी विद्यालयको नतिजाको योगदान पनि हेर्न सुझाव दिएका छन् । उनले सरकारी स्कुलको तुलनामा निजीले वैकल्पिक उपाय अपनाएर पठनपाठन गरेको दाबी गरे । उनले भने,‘हाम्रो सरकारी विद्यालयमा शिक्षक धेरै भए, जागिर कम गरेका रहेछौं भन्ने देखियो ।’ उनले शिक्षकको क्वालिटी पनि राम्रो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘अयोग्य शिक्षकले पढाएको विद्यार्थी कसरी योग्य हुन्छ ?’ उनले सिकाई उपलब्धि कसरी बलियो बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘विदेशका कतिपय देशमा शिक्षकको तलब निजामति कर्मचारीको भन्दा बढि छ, भुटानले डबल दिएर राखेको छ। नेपालमा किन गर्न सकिँदैन् ?’ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालको समग्र शिक्षा प्रणाली सुधारको आवश्यकत्ता औंल्याएका छन् । उनले एसईई खारेजीको माग गरे । उनले राम्रो नतिजा ल्याउने विद्यार्थीहरुको अभिभावक खुशी रहेको र नतिजा नराम्रो ल्याएका अभिभावकहरु दुःखी रहेको भन्दै जुन कुरा सामाजिक सञ्जालमार्फत पनि थाहा भैसकेको सुनाए । उनले भने,‘मनोवैज्ञानिक रुपमा एसईर्ईको अत्यधिक महत्व छ । अभिभावकको सन्तुष्टिको कुरा गर्दा ए प्लस ल्याउनेहरु खुशी छन्, उनीहरुको अभिभावक पनि खुशी छन् । सामाजिक सञ्जालमा देखिन्छ, खुशी साटेको । हामीले चार वर्षको रिजल्ट फर्केर हेर्दा ०७५ को भन्दा ०७८ को रिजल्ट खस्किएको छ ।
०७६÷०७७ मा त आफ्नो हात जगन्नाथ भएको थियो । आन्तरिक मूल्यांकन थियो । विद्यालयले नै नम्बर हालिदिएको कारणले नम्बर आएको अनुमान आएको थियो । थुप्रै विद्यार्थीहरु ननग्रेड छ । तर, सरकारले ग्रेड हटायो । सरकार तदर्थवादी रुपमा गुज्रिएको छ ।’ उनले सरकारले नै एसईईको राष्ट्रिय महत्व बनाईदिएको सुनाए । उनले भने,‘हामी किन ९ र ११ कक्षा पास गरेकालाई बधाई दिँदैनौं । अर्को वर्ष एसईर्ईको रुपमा छलफल गर्न नपरोस भन्ने चाहन्छौं । अब एसईई प्रदेश र जिल्लामा जानुपर्छ । परीक्षा कायम हुनुपर्छ । तर, यो रुपमा जानुहुन्न । शिक्षाले राष्ट्रियता बलियो बनाउनुपर्छ । होइन, भने यो खराब हुन्छ । आजका युवा पिढीँहरु विदेश पलायन भएको छ । अभिभावकको खुशी भनेको बालबच्चाको खुशी हो । बालबच्चा भोलिको असल नागरिक बन्नुपर्छ ।’
शिक्षाविद् एवम् काठमडौं विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले पनि शिक्षा प्रणाली सुधारमा जोड दिएका छन् । उनले भने,‘अहिले यहाँ हामी कहाँ चुक्यौं ? भन्ने कुरा आयो । पहिलो कुरा त शिक्षाको गुणस्तर के हो भनेर हामीले हेर्नुपर्छ । ग्रेडको आधारमा शिक्षा मापन गर्न मिल्दैन् । तथ्यांकमा हेर्दा राम्रो रिजल्ट छ । यो वैज्ञानिक रुपमा त्यो ठीकै छ ।’ उनले गएको २ वर्षको कुरा गर्दा (२०२० को मार्चदेखि अहिलेसम्म) अहिलेको रिजल्ट नराम्रो मान्न आवश्यक नभएको जिकिर गरे । उनले भने,‘हामी कहाँ चुकेको भन्ने हेर्दा हामीले कुन शिक्षालाई टार्गेट गरेको हो ? त्यो हेर्नुपर्छ । हाम्रोमा जब–ओरिएण्टेड शिक्षा छ । शिक्षाको लाईन ठीक हुनुपर्यो । उत्पादनशील मान्छे निकाल्न चाहेको हो भने हामी चुकेको छौं । यो शिक्षाको संरचना अर्के रुपमा भएको थियो । माटो सुहाउँदो शिक्षा दिन हामी चुकेका छौं ।’ निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले एसईर्ईको नतिजालाई राम्रो रुपमा लिनुपर्ने बताए ।
उनले भने,‘परीक्षा जीवनमा धेरैपटक हुन्छ । एसईई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई छ, तपाईँहरुको आउने दिन उज्जवल रहोस ।’ विश्वमा जस्तै कोभिडको महामारीमा नेपालको शिक्षा पनि परेको उल्लेख गर्दै अहिले एस.इ.ईको नतिजा राम्रै रहेको उनको भनाई छ । उनले भने,‘आजको मितिमा हामीले कुरा गर्दा, अहिले पनि कतिपय ठाउँमा सहजताको बीचमा पाठ्यपुस्तक नपुगेको अवस्था छ । यो अप्ठ्यारो परिस्थितिको बीचमा विद्यार्थील हाँसिल गरेको नतिजा राम्रो छ । परीक्षाको प्रणाली सुधार गर्नुपर्छ । विद्यार्थीहरुको पठन संस्कृति बढाउनुपर्छ । पाठ्यक्रममा निरन्तर सुधार हुँदै मूल प्रवाहलाई कता मिश गरेका छौं । यसमा घोत्लिनुपर्छ ।’ उनले विद्यार्थीको पढाईलाई जनजीवनसँग जोडेर हेर्नुपर्ने बताए । उनले भने,‘विदेश जाने विद्यार्थीको संख्या ठूलो छ । ब्रेन र मसल ड्रेन भएको छ । हामीले विद्यार्थीलाई स्वदेशमै कसरी आकर्षित गर्न सक्छौं भन्ने चूनौति छ । आउने दशक हामी अप्ठ्यारो परिस्थितिमा जाने छौं ।
उच्च शिक्षामा नेपालमै विद्यार्थी बस्ने वातावरण बनाउनुपर्छ । कोभिडको बीचमा जुन त्रास र भयको बीचमा विद्यार्थीले अध्ययन गरेर पनि त्यसको बावजुद प्राप्त गरेको परीणाम राम्रो छ । म हतोत्साही छैन् ।’ हिसानका सचिव ऋषि तिवारीले नेपालको शिक्षा प्रणाली कसरी चलेको छ ? भन्ने कुराको निमर्म समिक्षा हुनुपर्नेमा जोड दिए । उनले भने,‘यहाँ त कुन बेला, कसरी चेन्ज ल्याउँछ ? भन्ने कुरा पनि छ । सुरुमा आई.कम, आई.एस्सी पढ्थ्यौं । पछि प्लस टु भयो । माध्यामिक तह आयो । किन यो आयो ? यसबारेमा सरोकारवालाहरुसँग छलफल भयो त ?, पहिले हाम्रो परिक्षा प्रणालीमा प्रतिशत थियो, त्यो गयो । ग्रेडिङ आयो । अहिलेको शिक्षा कस्तो अवस्थामा छ ? यो हेर्नुपर्छ ।’ उनले एसईईको नतिजाको कुरा गर्दा करिब २ लाख भन्दा बढि विद्यार्थीको डि भन्दा तल नजिता आएको उल्लेख गरे । उनले भने,‘कोभिडको कारणले कमजोरी पनि भयो होला । तर, हामी बढ्ता हल्ला गर्छौं । तर, पढाउँदैनौं । विद्यार्थी संगठनहरुले निजीको कुरा किन उठाउँदैनन् । अब एसईई खारेज गर्ने कुरा पनि आयो । यो त गलत कुरा हो । भारतमा पनि छ । शिक्षामा यस्तो हुचवाको कुरा गर्नुहुँदैन् ।’
मनास्लु वल्र्ड कलेजका अध्यक्ष ग्येन्द्र लामाले पनि नेपालको शिक्षा प्रणालीमा परिमार्जनको आवश्कत्ता औंल्याएका छन् । उनले परिक्षा बोर्डले पनि समयमै नतिजा ननिकालेर गलत काम गरेको आरोप लगाए । उनले भने,‘कोभिड कालमा विद्यालयले आन्तरिक मूल्यांकन गरेकोले सबैको रिजल्ट राम्रो भयो । यसमा हाम्रो पनि कमजोरी भयो । तर, अहिले राष्ट्रिय परीक्षा बोर्डले अर्को बेईमानी गर्यो, १० देखि १२ दिनअघि नै नतिजा प्रकाशित हुनुपर्दथ्यो । शिक्षा प्रणालीमा परिमार्जन हुनुपर्छ ।’ उनले रिजल्ट समग्रतामा डाउनफलमा रहेको सुनाए । उनले भने, ‘यसमा हाम्रो पनि कमजोरी छ ।’








प्रतिक्रिया