मंगलबार, वैशाख १८, २०८१

ठप्प पोखरा : लकडाउनको पालना बढ्दै

नेपालखोज २०७६ चैत १३ गते ९:५९

पोखरा । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ ।

लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् ।

लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्डभित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाएसँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भने ।

प्रतिक्रिया