सोमबार, पुष ७, २०८२

नेपाल बाथरोग मैत्री समाजको नयाँ कार्यसमिति गठन (नामसहित)

नेपालखोज २०७९ साउन १४ गते १७:०९

ललितपुर । बाथरोग निवारण तथा सचेतना अभिवृद्धिका लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औं वार्षिकोत्सवले नयाँ कार्यसमिति चयन गरेको छ ।

ललितपुरको सातदोबाटोमा गरिएको साधारणसभामा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. दीपेन्द्ररमण सिंह प्रमुख अतिथि थिए । कार्यक्रममको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अथितिहरूमा बाथरोग विशेषज्ञ डा. दीपा शाह, डा. उज्ज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदीप श्रेष्ठ थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. दीपेन्द्ररमणले बाथरोग समाजले बाथरोगसम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताए । त्यसका लागि स्वास्थ्य सेवा विभागले सक्दो भूमिका खेल्ने बताए । उनले बाथरोगमैत्री समाजले देशलाई धेरै दिन सक्नेसमेत बताए ।

विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महँगो र दीर्घरोग भए पनि सरकारले यस रोग सम्बन्धमा बेवास्ता गरेको बताए । साथै उनले क्यान्सर, मुटु, मिर्गौला रोगीहरूलाई जस्तै बाथरोगीहरूलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताए । बाथरोगको सचेतनाका निम्ति सरकारदेखि चौथो अंग मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासा थिए । समाजको सल्लाहकारसमेत रहेका डा. पौडेलले संस्थाको सेवा क्रमिक रुपमा देशभर पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. उज्ज्वल रिसालले बाथरोगीहरूलाई खोपको महत्त्व विषयमा उजागर गरेका थिए । बाथरोगीलाई रोगसँग लड्ने क्षमता कम भएकाले पनि कुनै पनि किसिमका खोप महत्त्वपूर्ण हुने रिसालले बताए । त्यसमाथि कोरोनाको खोप झनै महत्त्वपूर्ण हुने उनले बताए । बाथरोग विशेषज्ञ डा. दीपा शाहले हड्डी स्वास्थ्यको महत्त्वबारे कार्यक्रममा प्रकाश पारेकी थिइन् । उनले हड्डीको स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, व्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताइन् । हड्डी स्वास्थ्यका लागि षोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको जरुरत रहने शाहले बताइन् ।

डा. अमृत घिमिरेले बाथरोगीहरूले के-के खानुहुन्छ र के-के खानु हुँदैन भन्नेबारे समाजमा रहेका भ्रमहरू चिर्ने प्रयास गरेका थिए । डा. घिमिरेले बाथरोगीहरूले मूलभूत रूपमा खानपिनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताए । त्यस आलवा बाथरोगीहरूले धूमपान, मद्यपान र सिसामा गालेका अचारहरू खान नहुने बताए । सोबाहेक सबै चिज बाथरोगीहरूले खाँदा हुने उनले बताए ।

कार्यक्रममको सभापतित्व वरिष्ठ बाथरोगमैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए । समग्र कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गरेका थिए ।

यस्तो बन्यो नयाँ कार्य समिति
अध्यक्ष : मेनका आचार्य
प्रथम उपाध्यक्ष : रूपा विमल क्षेत्री
द्वितीय उपाध्यक्ष : बलरामकृष्ण बन्जाडे
महासचिव : गणेश थापा
सचिव : सुष्मा रेग्मी
कोषाध्यक्ष : विजयराज अधिकारी
सह-कोषाध्यक्ष : टीकादेशी श्रेष्ठ
सदस्यहरू : सरला क्षेष्ठ, टीका तिमल्सिना, राजु पन्थी, सबिन कार्की

प्रतिक्रिया