बिहीबार, जेठ २, २०८२

दलहरुलाई राष्ट्रपतिले भने- ऋण तिर्ने उपाय पहिल्याऔं

नेपालखोज २०७९ साउन १५ गते १४:५१

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक संकटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् ।

देशले झेल्नुपरेको वर्तमान चुनौती स्थायी रूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक संकटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए ।

क्यान्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक संकटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे । साथै उनले त्यसका निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे । आईएमएफसँगको सम्झौताले श्रीलंकाको समस्या पूर्ण रूपमा समाधान नहुने बताए ।

आफूले जिम्मेवारी सम्हालेपछि अगाडि बढेको आईएमएफसँगको सम्भावित सम्झौता देशमा व्याप्त अस्थिरताका कारण रोकिएको जनाउँदै उनले आगामी अगस्तको अन्त्यपछि सम्झौता हुनसक्ने बताए । आईएमएफसँग सम्झौता नभएसम्म अन्य देशले श्रीलंकालाई आर्थिक सहयोग गर्न इच्छुक नहुने दोहोर्‍याए ।

यसैबीच, सरकारी तथ्यांकअनुसार यसै वर्षको जुनमा २७ हजार नौ सयजना रोजगारीको खोजीमा बाहिर गएका, अनुमति प्राप्त वैदेशिक रोजगार प्रदायक निकायमार्फत नौ हजार आठसय ५४ जना रोजगारीका लागि विदेश गएका छन् । यस वर्षको जनवरीदेखि एक लाख ५० हजारभन्दा बढीले देश छाडेका छन् ।

चरम आर्थिक संकटले पिरोलिएका श्रीलंकाका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा संघर्ष गरिरहेको छन् । राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हजारौं सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिएभने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए ।

प्रतिक्रिया