भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको आरोप

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरी सम्पती हडप्न खोजेको भन्दै बौद्व धर्म गुरु भीमसुवा गुरुङ न्यायका लागि मिडियामा आएकी छिन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गुरुङले आफुलाई गत जेठ २ गते त्वानावासु र उनीसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले विप्लव समुहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काउँदै ६ घण्टा बन्धक बनाएर अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् ।
उनीहरुले आफ्नो छोरा मार्ने र आफुलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुदै बताइन्् । रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले उनीहरुले आफुलाई नियन्त्रणमा लिई छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराएपनि आफ्नो कुरा सुनुवाई नगरेको भन्दै दुखेसो पोखिन् ।
त्यस लगत्तै उनले जिल्ला प्रहरी परिसर टेकुमा आफुलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन् । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरेपनि आजसम्म कुनै जानकारी नआएको उनले स्पष्ट पारिन् ।
धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबासु र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । उक्त सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझेपनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् ।
पछि ती दुई बीच भएको सम्झौता बमोजिम काम नभएपछि ३ करोड रुपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफुमाथि अपराधिक कार्य गरेको उनको दाबी छ । गुरुङले आफु अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाच्नुसम्म टर्चर दियो । सात–सात घण्टा नियन्त्रणमा लिएर उहाँहरुले मेरो चेक जबरजस्ती लगेको छ । त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरी त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ । मलाई धेरै अन्याय भएको कारण आज पत्रकार सम्मेलन गर्न परेको हो ।’
उनले सम्बन्धित निकायसँग आफुलाई न्याय दिन माग गरिन् । उनले आफु न्यायको खोजिमा जता पुगेपनि न्याय पाउन नसकेको गुनासो सुनाइन् । उनले भनिन्,‘यो देशमा न्याय नै रहेनछ, राम्रो मान्छेलाई केही कामै नहुने रहेछ, नराम्रोको मात्रै काम हुने रहेछ ।’
गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो ।








प्रतिक्रिया