सोमबार, पुष ७, २०८२

आईजीपीको निर्देशन- विपत्‌का क्षेत्र पहिचान गरी आवश्यक स्रोत-साधनसहित तयारी रहनू

नेपालखोज २०७९ साउन १८ गते १५:३७

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेस र क्वाटर गार्ड भवनको उद्घाटन गरेका छन् । उनले आज (बुधबार) आयोजित कार्यक्रमबीच नवनिर्मित भवनहरुको उद्घाटन गरि निरीक्षणसमेत गरेका हुन् ।

मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गरे । उनले भने, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरु हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानुनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरुतर्फ ध्यान दिन जरुरी छ ।’

महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरीको लागि आवास भवन आवश्यकता रहेको चर्चा गर्दै आधुनिक र सुविधा सम्पन्न भवनहरुले उक्त गणमा कार्यरत प्रहरीमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गरे । नवनिर्मित भवनहरु सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले भवनहरु प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरीलाई उनले आग्रह समेत गरे ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको उनले बताए । प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरीलाई निर्देशन दिए ।

प्रतिक्रिया