सोमबार, पुष ७, २०८२

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउन्टर बुटवलमा

नेपालखोज २०७९ साउन १८ गते १६:४५

काठमाडौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५२औं एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र स्थापना गरिएको छ । एक्स्टेन्सन काउन्टरको उद्घाटन बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेले गरे ।

कार्यक्रममा उप-महानगरपालिका प्रमुख पाण्डेले बुटवल बजार व्यावसायिक क्षेत्र भएकाले काउन्टरबाट सरकारी कारोबारसमेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजस्व संकलन गर्ने योजना रहेको बताए ।

शाखा कार्यालय बुटवलमार्फत रहने एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ । बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत तथा उप-प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्ज्वल कसजू, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादव, कर्मचारीलगायतको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ शाखा कार्यालय, ५२ एक्स्टेन्सन काउन्टर, २६८ एटीएम र १०२ शाखारहित बैंकिङ छ ।

प्रतिक्रिया