ई-सेवाले सुरु गर्यो होटेलमा पनि सेवा, अबदेखि अनलाइनबाटै बुक गर्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अनलाइनबाटै होटेल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ ।
योसँगै अबदेखि ग्राहकले सहजै ई-सेवामार्फत होटेल बुक गर्न सकिनेछ । ग्राहकले ई-सेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटेल बुक गर्न सक्नेछन् । ई-सेवामा हाल होटेलहरु सूचीकरण गर्ने कार्य जारी छ । ई-सेवाले यदि अनलाइनमार्फत होटेल बुक गर्ने भएमा ई-सेवामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । ई-सेवामा भएका होटेलहरुको सूची ई-सेवा होटेल डटकममा गएर हेर्न सकिनेछ । ई-सेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटेल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । हाल यो सेवा एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आईओएसमा समेत उपलब्ध हुनेछ ।
ई-सेवामा होटेल सेवा सुरु भएसँगै ई-सेवाका होटेल विभाग प्रमुख अनुज विष्टले भने, ‘विविध सेवा एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पनाअनुसार हामीले अब होटेलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटेललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केहीहदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ । साथै भविष्यमा अन्तर्राष्ट्रिय होटेलसँग पनि सहकार्य गरि अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरूलाई अनलाइनबाटै होटेल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ।’
ई-सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई-सेवामा हाल ५२ बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।








प्रतिक्रिया