सोमबार, पुष ७, २०८२

ओलीले भने- चुनावमा एमाले हार्दा देशै हार्छ, माधव नेपालको त नाम नलिउँ होला !

नेपालखोज २०७९ साउन २० गते १६:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । उनले देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नैपर्ने दाबीसमेत गरेका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको रणनीतिक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले १ वर्षमै देशलाई दुर्गतिमा लगेको भन्दै ओलीले उनीहरुले थप पाँच वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउन एमालेले चुनाव जित्नैपर्ने उनले दोहोर्‍याए ।

सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्तव्य नभएको उनले आरोप लगाए । ‘मोहनविक्रम सिंहको गन्तव्य के हो भन्दा- प्यूठान, आ-आफ्ना छन्, शेरबहादुरको के हो भन्दा-म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा- सुपुत्री,’ ओलीले भने, ‘यस्ता-यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’

ओली त्यत्तिमै रोकिएनन्, ‘माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, विचराको ।’

प्रतिक्रिया