विभिन्न रूपमा रकम ठगी गर्ने पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि १४ लाख रुपैयाँ लाग्छ भन्दै क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।
अबैध रुपमा भन्सार छलि ल्याएको मोबाइलसहित पक्राउ
भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइल सहित काठमाडौं गौशाला बस्ने भारतको पंजावस्थित जालंधर नगर सैदाँ गेट घर भएका ३५ वर्षीय संदीप अहुजालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अहुजाले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री गर्न उद्धेश्यले राखेका विभिन्न कम्पनीका १२ थान मोबाइल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहिको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने बागलुङ काठेखोला गाउँपालिका–५ घर भएका ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२ लैनचौंरबाट पक्राउ गरेको हो ।
घिमिरेले आाफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड गोंगबु शाखा कार्यालय काठमाडौं रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।








प्रतिक्रिया