अटेरी नर्भिकविरुद्ध बालेन्द्रको अडान- कानुन सबैका लागि बराबर हो !

काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको चौबीस घण्टे अल्टिमेटम पालना नगरेको नर्भिक हस्पिटलविरुद्ध मानवीय संवेदना देखाएर एक्सनमा नउत्रिएको मेयर बालेन्द्र शाह (बालेन)ले बताएका छन् । आफ्नो जग्गामा सम्झौताविपरीत बनाइएका अवैध संरचना हटाउन नर्भिकलाई महानगरले अल्टिमेटम दिएको थियो ।
अल्टिमेटम अवधि सकिएपश्चात मेयर आफ्नो टोलीसहित नर्भिक परिसर पुगेका थिए । अक्सिजन प्लान्टलगायत अत्यावश्यक सामग्री भएकाले अल्टिमेटम पालना गर्न नसकेको नर्भिकले जानकारी दियो । हस्पिटल संवेदनशील स्थान भएकाले महानगर लचिलो बनेर तत्काल एक्सनमा उत्रिएन । बरु प्राविधिकहरुले अध्ययन गरेर उपलब्ध गराउने समयमा अवैध संरचना हटाउने कुरा दुवै पक्ष सहमत भए ।
मेयर बालेन्द्रले बिरामीलाई मर्का पर्ने भएकाले नर्भिकलाई तत्काल कानुनी दायरामा ल्याउन समस्या भएको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रस्ट छौं । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृत रुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो ।
त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो, ‘उनले लेखेका छन्, ‘थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्नेछ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिनेछ । यसैले हामी पुनः आग्रह गर्छौं, कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौं ।’








प्रतिक्रिया