मंगलबार, पुष ८, २०८२

त्रिवि व्यवस्थापन केन्द्रीय विभागमा पढ्नेले नेपाल बैंकमा इन्टर्न गर्न पाउने

नेपालखोज २०७९ साउन २५ गते १८:०४

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्य सञ्चालन गर्नेछ ।

बैंकको अनुसन्धानसम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञका रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूचीअन्तर्गतका प्राध्यापकहरूलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ । त्यसैगरी बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबीए र एमबीएममा अध्ययनरत विद्यार्थीलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जीआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँच विद्यार्थीलाई बैंकले प्रतिविद्यार्थी नगद तीस हजार रुपैयाँ प्रदान गर्नेछ । बैंकले व्यवस्थापन विभागमा एमबीए इन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एक छात्र र एकजना छात्रा गरी दुईजना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अवार्ड’ समेत प्रदान गर्नेछ ।

यही साउन २४ गते नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गरे । उनले सो अवसर प्रदान गरेकामा बैंकलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा त्रिवि व्यवस्थापन विभागका एमबीए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञानमणि अधिकारी, सह–प्राध्यापक डा. ध्रुवलाल पाण्डेय, डा. बलराम दुवाल र डा. भरतसिंह थापाको उपस्थिति थियो । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कम्पनी सचिव केशव भण्डारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया