भारतको १४औं उपराष्ट्रपति बने जगदीप धनखर

काठमाडौं । भारतका १४औं उपराष्ट्रपति जगदीप धनखरले आज (बिहीबार) शपथ ग्रहणसँगै पदबहाली गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उपराष्ट्रपतिको शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराष्ट्रपति रामनाथ कोविन्दलगायत विशिष्ट व्यक्तिको उपस्थित थियो ।
२०१९ देखि पश्चिम बंगालको राज्यपाल रहेका जगदीप धनखरले उपराष्ट्रपतिको चुनावमा एनडीएको उम्मेद्वारको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए ।
राजस्थान जिल्लाको झुन्झुनु जिल्लाको किथाना गाउँमा १८ मे १९५१ मा जन्मेका जगदीपले आफ्नो प्रारम्भिक शिक्षा (कक्षा १ देखि ५ सम्म) गाउँकै सरकारी विद्यालयमा गरे । त्यसपछि उनले छात्रवृत्ति पाए र चित्तौडगढको सैनिक विद्यालयमा भर्ना भए । धनखरले प्रतिष्ठित महाराजा कलेज, जयपुरबाट बीएससी (अनर्स) डिग्री लिएका छन् । उनले राजस्थान विश्वविद्यालयबाट कानुनमा स्नातक (एलएलबी) पनि पढेका छन् ।
धनखरको राजनीतिक करियर सन् १९८९ देखि सुरु भएको थियो । त्यस वर्ष, उनले भाजपाको समर्थनमा जनता दलको टिकटमा झुन्झुनुबाट लोकसभा चुनाव लडे र पहिलोपटक सांसदमा विजयी भए । उनी केन्द्रमा मन्त्री पनि भइसकेका छन् । -बीबीसी
प्रतिक्रिया