मंगलबार, पुष ८, २०८२

सभामुख सापकोटाले भने- एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध छ

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको भेट, के भयो कुराकानी ?

नेपालखोज २०७९ साउन २७ गते १३:५१

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज (शुक्रबार) बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित थियो ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

सभामुख सापकोटाले २०७८ चैतमा चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीयमैत्री समूह, संसद-संसदबीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राखे ।

सभामुख सापकोटाले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड १९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिए ।

सापकोटा-यान्छीबीच दुई देशबीचका व्यापारिक नाका नियमित गराउने सम्बन्धमा पनि छलफल भयो । भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाइन् ।

प्रतिक्रिया