पर्वतमा रासायनिक मलको अभाव

पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो ।
अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् । जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख बिपीनप्रसाद शर्माले बताउए ।
जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ । ‘मलको माग कति थियो कति’, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भने, ‘पु¥याउनै सकिएन । अब कहिले आउने हो टुङ्गो छैन ।’
कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताए । ‘अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो’, उनले भने, ‘त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।’
मकै छरेदेखि मल नपाइएको कृषकहरुको गुनासो छ । मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भने, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’ अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो ।
यो वर्ष मलकै आसमा धानखेती भित्र्याउनै नपाइने उनको गुनासो छ । फलेवास नगरपालिका–४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किर्एको गुनासो गरे । “३० किलो युरिया चाहिएको थियो,” उहाँले भन्नुभयो, “कोटा सकिएको रहेछ । पाँच किलो ल्याएर केमा सुघाउने ? अरू मल आएपछि एकै पटक छरौला भनेर राखेको छु ।” केहि दिन अघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुँईचो लागेको थियो ।
विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पु¥याएर वितरण गर्दै आएका बिहादी गाउँपालिका –३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गरे । नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताए । ‘मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,’ उनले भने, ‘मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।’
मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन । कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन । ‘मल नपाएर मकै पनि भएनन्,’ कुश्मा–९ का पुनाखर पराजुलीले भने, ‘धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।’
रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरुको गुनासो छ । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरु समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पर्याप्त वर्षा नहुँनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिए ।








प्रतिक्रिया