मंगलबार, पुष ८, २०८२

गरिमा क्यापिटलमा भट्टराई नियुक्त

नेपालखोज २०७९ भदौ १ गते १४:२७

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । भदौ १ देखि लागु हुनेगरी उनलाई साउन २९ गते बसेको सञ्चालक समितिको ५२औं बैठकले कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी गरिमामा स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकामा अहिले संस्थाको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । यसअघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएकामा अब निकट भविष्यमै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तै- निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डलगायत अन्य फन्डहरुको व्यवस्थापनसम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहकसमक्ष पुर्‍याउन सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको प्रमुख सञ्चालन अधिकृत अशोक सुवेदीले जानकारी दिए । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्न विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया