नेपाल टेलिकमद्वारा मोबाइलबाट भारतमा कल गर्नका लागि इन्डिया भ्वाइस प्याक उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।
टेलिकमका अनुसार हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने छ । इन्डिया भ्वाइस प्याक–डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ ।
त्यसैगरी विक्ली अफर अन्तर्गत सात (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश दुई सय ५९ रुपैयाँ र सात सय ५९ रुपैंमा उपलब्ध रहेको छ ।
एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट एस्ट्रीक १४१५ ह्यास मा डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।








प्रतिक्रिया