शुक्रबार, जेठ ३, २०८२

अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

नेपालखोज २०७९ भदौ ३ गते २१:४५

कोलम्बो । अस्ट्रेलियाले श्रीलंकालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त मन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

‘अस्ट्रेलियाले श्रीलंकालाई ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । यस चुनौतीपूर्ण समयमा, अष्ट्रेलिया विशेष गरी गम्भीर कठिनाइको सामना गरिरहेका श्रीलंकाका जनताको साथमा उभिएको छ । यो थप सहयोगले अष्ट्रेलियाको आधिकारिक विकास सहायता प्रतिक्रियालाई सात करोड ५० लाख अमेरिकी डलरमा पु¥याएको छ,’ अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले श्रीलंकालाई निरन्तर सहयोग गर्दै पारस्परिक हितलाई समर्थन गर्नुका साथै सहयोग र सामुदायिक सम्पर्कमा आधारित ७५ वर्ष लामो सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ । “यो अतिरिक्त मानवीय सहायता सन् २०२२÷०२३ मा श्रीलंकालाई जारी विकास सहायताका लागि दिइएको दुई करोड ३० लाख अमेरिकी डलरको अतिरिक्त भएको जनाइएको छ ।

यसअघि गत जुनमा अस्ट्रेलियाले श्रीलङ्कालाई पाँच करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । श्रीलङ्काले अहिले सत्तरी वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि र इन्धनको अभाव भएको छ ।

सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटका कारण विदेशी मुद्राको अभाव भएको र यसका कारण इन्धन, औषधि र मलजस्ता अत्यावश्यक वस्तुको आयात ठप्प भएको थियो । ‘श्रीलङ्काका ३० लाख मानिसहरूलाई उनीहरूको दैनिक पोषण आवश्यकता पूरा गर्न मद्दत गर्न आपतकालीन खाद्य सहायताका लागि हामी विश्व खाद्य कार्यक्रमलाई तत्काल दुई करोड २० लाख अमेरिकी डलर सहयोग गर्नेछौं ।

प्रतिक्रिया