शुक्रबार, पुष ४, २०८२

डीजी पे र नाइस टीभीबीच सम्झौता, व्यवसायीले डेढ लाखको विज्ञापन सित्तैमा गर्न पाउने

नेपालखोज २०७९ भदौ ८ गते १५:१४

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र नाइस टेलिभिजनबीच सहकार्यको लागि ऐतिहासिक सम्झौता भएको छ । टेलिभिजनमार्फत् व्यवसायीक प्रवर्द्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो ।

सम्झौता अनुसार डीजी पेको व्यवसायीक आबद्ध योजना अनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख पचास हजार मूल्य बराबरको विज्ञापन तीनमहिनासम्म निशुल्क गर्न पाउने भएका छन् । अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आसिर्बाद पुन र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

नेपालकै दोस्रो एच डी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।

‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिदै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं’, पाण्डेले भने, ‘डिजी पेमा आवद्ध हुँदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं ।’

नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट बिज्ञापन मार्फत जनमानस पर्‍याएर लाभ लिन सक्ने बताए ।

टेलिभिजनमा विज्ञापन महँगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको उनको भनाइ छ । ‘अब यो सहकार्य अनुसार ठूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रति महिना ५० हजार रुपैयाँका दरले तिन महिनाको लागि निशुल्क गर्न पाउने छन्’, उनले भने ।

यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ । जस अनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

प्रतिक्रिया