क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौंं । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाका अनुसार मोरङको विराटनगर महानगरपालिका १६ स्थायी घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरिएको हो ।
दाहालले धनन्जय कुमार कार्की लगायतलाई क्रोएसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि कृषी फार्ममा काम लगाइदिन्छु, मासिक एक लाखसम्म तलब हुन्छ भनी बिश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट जम्मा छ लाख २४ हजार रकम लिई सम्पर्कविहिन भएका थिए ।
तत्पश्चात दाहाललाई पक्राउ गरी उपस्थित गराइदिन भनी वैदेशिक रोजगार विभागबाट अपराध अनुसन्धान कार्यालयमा पत्राचार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।








प्रतिक्रिया