शुक्रबार, पुष ४, २०८२

कुमारी बैंकले ११ प्रतिशत केबीएल डिबेन्चर-२०८९ जारी गर्ने

नेपालखोज २०७९ भदौ ९ गते १०:०५

काठमाडौं । कुमारी बैंकले ११ प्रतिशत केबीएल डिबेन्चर-२०८९ (ऋणपत्र) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले १० (दश) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ को एक हजार अंकितदरको ३० लाख कित्ता ऋणपत्रको निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट यही भदौ १ गते स्वीकृति प्राप्त गरेको छ ।

बैंकका अनुसार उक्त तीन अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने गरिनेछ । ऋणपत्र निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रका लागि तीनवटा सामूहिक लगानी कोषबाट कुल ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको हुँदा त्यसलाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।

यस सार्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ एकाइ तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा-सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया