शुक्रबार, पुष ४, २०८२

अल्फाबिटामा बालेन्द्रको गर्जन, अन्तत: चल्यो डोजर !

नेपालखोज २०७९ भदौ ९ गते १६:२४

काठमाडौं । काठमाडौं महानगरभित्र रहेका अवैध संरचना खाली गर्दै हिँडेका मेयर बालेन्द्र शाहले आज (बिहीबार) अल्फाबिटा कम्प्लेक्सको निरीक्षण गरेका छन् । उक्त कम्प्लेक्समा नक्साविपरीत बनाइएका संरचना खाली गर्न मयेर बालेन्द्र बानेश्वर पुगेका थिए ।

अल्फाबिटाले बेसमेन्ट पार्किङ मासेर फार्मेसी सञ्चालन गरेको छ । जसका कारण पार्किङ मुख्य सडकपेटीमा हुने गरेको छ । कम्प्लेक्सका प्रतिनिधिले घरको नक्साको विषयमा चित्त बुझ्दो जवाफ नदिएपछि बालेन्द्र आवेगमा आएका हुन् ।

किन जंगिए बालेन्द्र ?
महानगरले हिजो (बुधबार) न्युरोड क्षेत्रमा अवैध संरचनामा डोजर चलाएपछि अल्फाबिटा कम्प्लेक्सले पार्किङ मासेको विषयले सामाजिक सन्जालमा चर्चा पायो । कतिपयले बालेन्द्रलाई ट्याग गरेर एक्सन लिन आग्रह/सहयोग गरे । त्यहाँ एक्सन लिन बालेन्द्रलाई स्वाभाविक दबाब बढ्यो । मेयर दलबलसहित बिहीबार अल्फाबिटा पुगे ।

मेयर बालेन्द्र र कम्प्लेक्सका प्रतिनिधिबीच सामान्य कुराकानी हुँदै थियो । कम्प्लेक्सका प्रतिनिधिले विभिन्न बाहान देखाउँदै पार्किङ हटाउन बाध्य भएको बताए । तर बालेन्द्र मुख्य विषयमा केन्द्रित भएर कुरा गरे । बेसमेन्ट पार्किङ खोइ ? भनेर प्रश्न गरे ।

नक्साविपरीत संरचना बनाएको मेयर बालेन्द्रको दाबी थियो । कम्प्लेक्सका प्रतिनिधिले जरिवाना तिरेर बेसमेन्ट पार्किङमा संरचना निर्माण गरेको दाबी गरे । बालेन्द्र यसमा सहमत भएनन् । उनले जरिवाना तिरेर बेसमेन्ट पार्किङमा संरचना निर्माण गरेको भए कानुनी कागजात देखाउनू भने । नक्सापासविपरीत कार्य भएको अडान राखे । ती प्रतिनिधिले कुरा लामो बनाउन लागे । समस्याको केन्द्रमा रहेर कुरा नगरेपछि अलि ठूलो स्वरमा बालेन्द्रले तर्क गरे, ‘तपाईंको नक्सा मसँग हुन्छ ?’

अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’

महानगरले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै बालेन्द्र जंगिँदै बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?’

अल्फाबिटाका प्रतिनिधिले आफूहरुले कुनै गलत काम नगरेको, तर मेयरले मिडियाको हूल लिएर आएकामा आपत्ति जनाए । तत्काललाई सटर बन्द गराएर कानुनी प्रक्रियामा जाने कम्प्लेसका प्रतिनिधिको कुरामा बालेन्द्रले माैन समर्थन जनाए । तर तत्काललाई फार्मेसीको सटर बन्द गराउन निर्देशन दिएर मेयर बालेन्द्र कम्प्लेक्स परिसरबाट बाहिरिए । ती प्रतिनिधि करोडौं कर तिर्छु, व्यापारीलाई सम्मान गर भन्दै मेयरलाई डन नबन्न चेतावनी दिँदै एकछिन बर्बराए ।

अन्त्यमा, चल्यो डोजर !
विवादपछि फर्किएका मेयर बालेन्द्र केही समयपछि घरको नक्सा र डोजर लिएर अल्फाबिटा पुगे । योपटक अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै संरचना खाली गर्न समय मागे । तर महानगरको टोलीले त्यसलाई सुनेन । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।

प्रतिक्रिया