शुक्रबार, पुष ४, २०८२

‘एमालेसँग एक्लै लड्न सकिँदैन भनेर ५ दल मिले’

नेपालखोज २०७९ भदौ ९ गते १६:११

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । उनले सबै दल मिलेर आए पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहुमत ल्याउने दाबी गरेका हुन् ।

आज (बिहीबार) राजधानीमा आयोजित साक्षात्कारमा उनले देशव्यापी रूपमा पार्टी पंक्तिबाट आएको रिपोर्टबाट आफूहरू चुनावका लागि उत्साही रहेको बताएका हुन् ।

उनले भने, ‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव संकलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन् । भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दै छौं । मंसिर ४ गतेको निर्वाचनका लागि हामी उत्साही छौं । बाहिर गठबन्धनले जित्छ भन्ने समाचार आइरहेको बेला, स्थायी कमिटी बैठकमार्फत हाम्रा प्रदेश इन्चार्जहरूबाट आएको रिपोर्टबाट हामी उत्साही छौं । अहिले पनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँचवटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दा पनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं ।’

उनले गठबन्धन गर्न चाहेनसँग भने विचारको आधारमा आफूहरू खुला रहेको सुनाए । उनले भने, ‘हामीले प्रस्ट भनेका छौं–लोकतन्त्रवादी, देशभक्ति र प्रगतिशील शक्ति एमालेसँगको साथमा उभिन्छौं भनेर आउनुभयो भने हामी उभ्याउँछौं । तर, वामपन्थी हुँ भन्ने शक्तिलाई, जो एमालेसँग साथमै उभिन्छौं भन्नेलाई हाम्रा सर्त छन् । एमालेको झन्डा र चुनाव चिह्न प्रयोग गर्नुपर्छ । वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँड्ने बेलामा अर्को घरको बास्ना आयो भनेर सर्नेसँग विश्वास छैन ।’

उनले निर्वाचनका लागि आफूहरूले अब विगतको गीत नगाउने पनि स्पष्ट पारे । उनले भने, ‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौं भनेर बढी फोकस हुन्छौं । पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब हामी प्रोत्साहान दिँदैनौं । युवा जेनरेसनलाई प्राथमिकता दिन्छौं ।’

‘देशभरिको रिपोर्टपछि हामी उत्साही छौं, एक्लै बहुमत ल्याउँछौं’

आर्थिक समृद्धि, रोजगारी विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिइने उनको भनाइ छ । पूर्वमन्त्री तामाङले भने, ‘हामी ऊर्जाको विकास गरेर जान्छौं । सबै जनतालाई धरायशी प्रयोजनका लागि निःशुल्क बिजुली दिन सक्छौं । यसो हुँदा एक खर्बको ग्यास विस्थापित गर्छौं । स्वास्थ्य बिमाको नयाँ पुनर्संरचना गर्छौं । नेपाली जनताको शतप्रतिशत उपचार निःशुल्क गर्छौं । अब जनताले उपचारको चिन्ता गर्नु पर्दैन । हामी नेपाली जनतासँग गठबन्धन गर्छौं । जनता नै एमालेको भरोसायोग्य साथी हुनेछ । एकचोटि एमालेलाई बहुमत भनेर अपिल गरेका छौं ।’

कांग्रेसले दुईपटक एकल बहुमत पाएबाहेक अरू दलले एकल बहुमत नपाएको उनको भनाइ छ । उनले भने, ‘कुनै दलले पनि अहिलेसम्म बहुमत पाएको छैन । जनताले अब एमाले रोज्ने कि गठबन्धन भन्ने बेला आएको छ ।’ उनले राप्रपासँग सहकार्यको विषयमा अहिलेसम्म पार्टीगत रूपमा सिट बाँडफाँडबारे छलफल नभएको स्पष्ट पारे ।

उनले राप्रपा पनि गणतन्त्रको संविधानअनुसार दर्ता भएको दल भएको उल्लेख गर्दै मौखिक रूपमा राप्रपाले के बोल्छ थाहा नभएको सुनाए । उनले भने, ‘राप्रपाको विधान गणतन्त्रको विधान हो । कसैले हाम्रो छेउमा उभिनका लागि स्पेस खोज्छ भने हामी छेउमा उभिन स्पेस दिन्छौं ।’ उनले नेपालमा दलको विकल्प नभएको स्पष्ट पारे । उनले थपे, ‘नेपालमा दल नै हो । जतिसुकै स्वतन्त्र भने पनि राजनीति नै हो । उहाँहरू पनि एउटा विचार र दृष्टिकोण बोकेर निर्वाचन लडेको हुन्छ नि, आइडियोलोजी हुन्छ ।’

उनले आफूहरू नागरिकता दिने कुराको विरोधी नभएको स्पष्ट पारे । उनले भने, ‘हामीले सरकारमा हुँदै नागरिकता ऐन ल्याउन चाहेको हो । अहिलेको ऐनले नेपालमा विदेशीले नागरिकता लिने कुरालाई खुकुलो बनायो । वैवाहिक अंगीकृतले आउनेबित्तिकै नागरिकता पाउने व्यवस्था गरियो । जन्मसिद्धलाई छिटो नागरिकता दिने कुरामा हामीलाई कुनै आपत्ति छैन । तर, फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गरियो, समितिमा पनि छलफल गरिएन, पछि राष्ट्रपतिले कन्सर्न गर्दा पनि त्यसमा कमा, फुलस्टप पनि चेन्ज नगरी जस्तोका त्यस्तै पठाउने काम भयोे । यसप्रति हाम्रो आपत्ति हो ।’

फरक प्रसंगमा उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको उपाय पनि सार्वजनिक गरेका छन् । उनले भने, ‘हामीले फोहोरलाई अन्य दृष्टिकोणबाट हेर्नुपर्छ । ल्यान्डफिलमा डम्प गरेर गर्ने विधिलाई हामीले फोहोरको दीर्घकालीन समाधान मान्नु हुँदैन ।’

काठमाडौंको फोहोर व्यवस्थापनमा शेरबहादुर तामाङको नयाँ फर्मुला

उनले अब फोहोर व्यवस्थापनका लागि ‘नो ल्यान्डफिल साइट’ को अवधारणा अघि सारे । उनले भने, ‘डम्पिङ साइटबिना पनि फोहोरको व्यवस्था हुन्छ । सबैभन्दा पहिले फोहोरको स्रोतको कटौती गर्नुपर्छ । भान्छामा आउनुभन्दा अघि नै फोहोरको स्रोत कटौती गर्नुपर्छ, फर्सीको मुन्टा किन्छौं । खाने सागभन्दा केलाइएको फोहोर धेरै हुन्छ । काउलीको पनि त्यस्तै छ । १२ सयदेखि १३ सय टन फोहोर त्यसरी जम्मा हुन्छ, अहिले हरेक भान्छाबाट ३० प्रतिशत खाना खेर गइरहेको छ । धेरैको घरमा फ्रिज छैन । ३० प्रतिशत खाद्यान्न कटौती गरौं । काठमाडौंका हरेक घरमा हेरौं, कुहिने र नकुहिने फोहोरको कुरा पनि आएको छ, यो राम्रो कुरा हो । सेपरेसन गर्नुपर्छ । घरमा तीनवटा छुट्टाछुट्टै बाल्टी राख्दा हुन्छ । मेटल आइटम एक महिनामा उठाउँदा पनि हुन्छ । कागजजस्ता फोहोर पनि एक महिनामा उठाउँदा हुन्छ ।’

उनले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्दा करिब ६ सय टन फोहोर मात्रै फाल्नुपर्ने हुने सुनाए । उनले भने, ‘६ लाख केजी खाद्यान्नको फोहोर भनेको १ लाख २० बंगुरको आहार हो । त्यो त खाद्यान्न हो नि । देशभरिका नगरपालिकालाई यस्तो गर्न भनौं । यसो गर्न सकियो भने वर्षभरिमा १० लाख बंगुरको उत्पादन हुन्छ । यसले २० हजारको रोजगारी सिर्जना हुनेछ । काठमाडौं महानगरलाई यही फोहोर तह लगाउन केन्द्रीय सरकारको बजेट चाहिँदैन । नेपालमा उत्पादन हुने लाखौं बंगुर चीन पठाउन सकिन्छ ।’

उनले बंगुर फार्म कहाँ सञ्चालन गर्न सकिन्छ भन्नेबारे पनि उपाय सुझाए । उनले भने, ‘बंगुर फार्म, चोभारभन्दा तलतिर वाग्मतीको किनारातिर पनि हुनसक्छ । फोहोरको कुरा गर्दा अहिले एकदमै अमानवीय व्यवहार गरेका छौं । सडकको किनारा, नदी किनारा फोहोर राख्ने ठाउँ होइन । काठमाडौंको फोहोर व्यवस्थापनको कुरा गर्दा प्रहरी लगाएर फोहोर फाल्ने काम राम्रो होईन ।’

उनले फोहोरमैला व्यवस्थास्पमा एमालेले राजनीति गर्यो भन्ने आरोप अस्वीकार गरे । उनले फोहोरमा राजनीति कसैले पनि गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘जसले गर्दा पनि हुन्छ, मैले भनेको विधिअनुसार एकचोटिलाई सफा गरौं । यसतर्फ महानगरपालिकाले सोचोस् । साँझ ९ बजे नै फोहोर संकलन गरिसकौं । यो सहरलाई विश्वकै सुन्दर सहर बनाउनुपर्छ ।’

प्रतिक्रिया