बुधबार, पुष २, २०८२

कर्मचारीलाई कर्तव्यनिष्ट भएर लाग्न मन्त्री भुसालको निर्देशन

नेपालखोज २०७९ भदौ ११ गते १६:४४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन्। कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन् ।

राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पुर्‍याएको असर र रुस–युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।’ उनले कर्मचारीमैत्री सङ्घीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

कोभिड–१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्र्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन्, ‘यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’ – रासस

प्रतिक्रिया