मंगलबार, पुष ८, २०८२

मुक्तिनाथ कृषिका थपिए ८ सहायक पब्लिक कम्पनी, कृषि क्षेत्रमा क्रान्ति ल्याइने

नेपालखोज २०७९ भदौ १४ गते २१:०८

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापनाको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक पब्लिक कम्पनी सार्वजनिक गरेको छ ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा मुक्तिनाथ सिड बैंक लि., मुक्तिनाथ फर्टिलाइजर बैंक लि., मुक्तिनाथ नर्सरी बैंक लि., मुक्तिनाथ लाइभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैंक लि., मुक्तिनाथ फुड बैंक लि., मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी ८ (आठ) वटा सहायक कम्पनीको औपचारिक उद्‌घाटन गरिएको हो । देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवा प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समूह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मूल्य शृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए । जसका लागि ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ र ‘समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मूलमन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको सुरुवात गरी सोहीअनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा बितेका ४ वर्ष विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्या, भइरहेका प्रयास, व्यावसायिक अवसर र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्न मुख्यत: व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ । साथै कम्पनीले आफ्नो उद्देश्यअनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरुजस्तै मल, बिउ, रोग कीरा नियन्त्रक, औजार-उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी कार्यहरु गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीले ६२ जिल्लामा विभिन्न व्यावसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापनाको अन्तिम चरणमा पुगेको छ । कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रका लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ । जसमा बीउ बैंकले गुणस्तरीय बीउ प्रवर्द्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणका लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छीजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्बल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको समृद्धिका लागि, मेसिनरी कम्पनी नेपाल उपयोगी औजारउपकरण उत्पादन, र ट्रेडिङ कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामग्रीहरुको वितरणका कार्यहरु गर्नेछन् ।

जसरी बैंक तथा वित्तीय संस्थाहरुले वित्तिय मध्यस्थकर्ताको भूमिका निर्वाह गरी वित्तीय पहुँच र परिचालनका साथै युवाहरुको रोजगारीका लागि आकर्षणको क्षेत्र निर्माणमा योगदान गरेको छ, त्यसैगरी नेपालमा कृषिजस्तो बृहत् र महत्त्वपूर्ण क्षेत्रको विकासका लागि संस्थागत रुपमा गैरवित्तीय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भूमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मूल्य शृंखला विकासमा व्यवस्थापकीय भूमिका स्थापित गर्न सहायक कम्पनीको नामकरणमा बैंक शब्द राखिएको छ। कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुको मार्फत कृषि क्षेत्रको विकासका लागि एकीकृत रुपमा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न मद्दत पुग्नेछ ।

साथै यो अभियानले निजी लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्न मार्गदर्शन हुनेछ भन्ने आत्मविश्वास बैंकले लिएको छ । योसँगै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाटै स्थापना भई सञ्चालन गर्न कठिनाइ भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहित गरी सञ्चालन गर्न सक्षम हुनेछ भन्ने अपेक्षा कम्पनीले राखेको छ । अध्यक्ष ढकालले देशको अर्थतन्त्रको प्रमुख स्रोतका रुपमा रहेको तथा मानव र सम्पूर्ण प्राणीजगतलाई बाँच्नका लागि नभई नहुने कृषि क्षेत्रमा, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट भएका प्रयासहरुको बाबजुत पनि उल्लेख्य रुपमा विकास हुन नसकेको परिप्रेक्षमा यस कम्पनीले कृषिलाई मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरुको आकर्षणको केन्द्रविन्दु बनाउने लक्ष्यसहित अगाडि बढाएको योजनाहरुलाई सार्थक बनाउन सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारहरु, सहकारीहरु, बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु तथा सम्पूर्ण मिडियाकर्मीहरुबाट साथ, सहयोग र सहकार्यको अपेक्षासहित अनुरोध गरेका छन् ।

प्रतिक्रिया