नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा प्रतियोगिता हुँदै

काठमाडौं । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार ६ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।
३६ खेल खेलाइने
नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।
प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई ४९ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ । प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताए ।
प्रतिक्रिया