बुधबार, पुष २, २०८२

मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन

नेपालखोज २०७९ भदौ १५ गते १३:३१

सिन्धुपाल्चोक । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।

जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए ।

व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभावी टहरा बनाउँदा बजार अव्यस्थित तथा कुरुप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची ११ वडाध्यक्ष चन्द्रबहादुर तामाङ, बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं मेलम्ची ९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची नगर उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ लगायतका स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

मेलम्ची बजारमा नगरपालिकाका बासिन्दाबाहेक पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका र नुवाकोटका नागरिक किनमेलका लागि आउँछन् । बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा सर्वसाधारणले भने सास्ती खेप्न परेको छ । मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना पनि छ ।

अहिले नगरपालिकाले गैरकानुनी रुपमा निर्माण गरिएका संरचना हटाउने, जथाभावी फोहर फाल्न नदिने, बजारमा अस्तव्यस्त पार्किङ गर्न नपाइने भनेर सूचना निकालेको छ । नगरपालिकाको यो निर्णयको बजारवासीले स्वागत गरेका छन् । नगरपालिकाको गत साउन ४ गतेको बैठकले १५ दिने सूचना जारी गरे पनि अहिलेसम्म कसैले पनि यस्ता संरचना हटाएका छ्रैनन् ।-रासस

प्रतिक्रिया