आइतबार, जेठ ५, २०८२

घरपालुवा कुकुर- बिरालोको दर्ता अनिवार्य, कुकुरले टोके उपचार खर्च तिर्नुपर्ने

नेपालखोज २०७९ कार्तिक २७ गते १८:३०

काठमाडौं । पछिल्ला केही दिनदेखि भारतको राजधानी दिल्ली र छेउको नोएडा क्षेत्रमा कुकुरको आक्रमणका घटनाहरू चर्चामा थिए । यसक्रममा घरपालुवा तथा आवारा कुकुरले आक्रमण गरेको धेरै गुनासो आए । यसबीच, उत्तर प्रदेशको नोएडा प्राधिकरणले कुकुर-बिराला मालिक तथा आवारा कुकुरहरूका सम्बन्धमा एउटा दिशानिर्देश जारी गरेको छ।

नोएडा प्राधिकरणका सीईओ रितु महेश्वरीको आधिकारिक ट्विटर ह्यान्डलबाट यो जानकारी दिइएको हो। उनले घरपालुवा कुकुर- बिरालाको दर्ता गराउन अनिवार्य गरिने बताएकि छिन ।

नोएडा प्राधिकरणको नयाँ दिशानिर्देश अनुसार, अब घरपालुवा कुकुर-बिरालाहरू दर्ता अनिवार्य हुनेछ। यसको अन्तिम मिति ३१ जनवरी २०२३ राखिएको छ । घरपालुवा कुकुर वा बिरालो दर्ता नगरे जरिवाना तिर्नुपर्नेछ। यसबाहेक घरपालुवा कुकुरको परिबार नियोजन तथा एन्टिरेबिज खोप पनि अनिवार्य गरिएको छ । यो नियमको उल्लंघन गरे मार्च १, २०२३ देखि मासिक २००० रुपैयाँ जरिवाना हुनेछ।

नोएडा प्राधिकरणले जारी गरेको दिशानिर्देश अनुसार यदि कुनै घरपालुवा कुकुर वा बिरालोले अन्य व्यक्तिलाई हानि पुर्यायो वा कुनै अप्रिय घटना घट्यो भने त्यसको मालिकलाई १० हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना तिर्ने यो नियम मार्च १, २०२३ देखि लागू हुनेछ।

यससँगै घरपालुवा कुकुर वा बिरालोको आक्रमणबाट कुनै व्यक्ति वा जनावर घाइते भए त्यसको उपचार खर्च पनि घरपालुवा कुकुर मालिकले नै व्यहोर्नुपर्नेछ । यदि कुनै घरपालुवा कुकुरले सार्वजनिक स्थानमा फोहोर गरे त्यसलाई सफा गर्ने जिम्मेवारी मालिकको हुनेछ।

प्रतिक्रिया