संसारको आधा घरेलु सम्पतिको मालिक दुई देश

काठमाडाैं । विश्वभरी कुनै पनि देशको विकास र समृद्धि प्रायः कुल गार्हस्थ्य उत्पादन वा जीडीपीसँग जोडिएको हुन्छ । जीडीपी सामान्यतया समग्र सम्पत्ति र अर्थव्यवस्थाको आकार बुझ्न प्रयोग गरिन्छ । तर, कुनै पनि देशका जनताको सम्पत्ति अनुमान गर्न जीडीपीभन्दा पनि त्यसको घरायसी सम्पत्तिको तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ । वास्तवमा, घरायसी सम्पत्तिको तथ्याङ्कले मात्र कुन देशका नागरिकले संसारमा सबैभन्दा बढी सम्पत्ति राखेका छन वा सम्पत्ति कमाउँछन् भन्ने कुरा बताउँछ ।
क्रेडिट सुइसको वार्षिक ग्लोबल वेल्थ रिपोर्टले दुई देशलाई विश्वको आधा घरपरिवारको सम्पत्तिको मालिकका रूपमा उल्लेख गरेको छ। ग्लोबल वेल्थ रिपोर्ट अनुसार विश्वको आधा घरपरिवारको सम्पत्ति अमेरिका र चीनसँग छ । प्रतिवेदनमा कुल घरायसी सम्पत्तिको ३१ दशमलव ५ प्रतिशत अमेरिका एक्लै र १८ दशमलव ४ प्रतिशत चीनसँग रहेको उल्लेख छ । त्यसपछि घरेलु सम्पत्तिको ५ प्रतिशत जापान अनि ४ प्रतिशत जर्मनीसँग छ ।
यो प्रतिवेदनमा भारत १४ दशमलव २ ट्रिलियन डलरको घरेलु सम्पत्तिका साथ सातौं स्थानमा छ, जुन विश्वको कुल घरपरिवारको तीन प्रतिशत सम्पत्ति हो। तथ्याङ्क अनुसार विश्वको कुल घरपरिवारको सम्पत्ति ४६३ ट्रिलियन डलर भएको अनुमान गरिएको छ । विश्वको अधिकांश सम्पत्ति चीन र अमेरिकालगायत ठूला अर्थतन्त्रहरूमा केन्द्रित छ । संसारको कुल व्यक्तिगत सम्पत्तिको आधा हिस्सा घरले ओगटेका छन् ।
कूल घरपरिवारको सम्पत्तिको ७५ प्रतिशत केवल १० वटा देशले ओगटेका छन् । हालैका वर्षको सबैभन्दा ठूलो परिवर्तन मध्ये एक चीनको सम्पत्ति वृद्धि हो । एक दशकअघि चीनका नागरिकसँग विश्वको कुल सम्पत्तिको ९ प्रतिशत मात्र स्वामित्व थियो । यो संख्या अहिले दोब्बर भन्दा बढी भएको छ ।








प्रतिक्रिया