बिहीबार, असार १९, २०८२

राजपा–समाजवादीबीच एकीकरण

नेपालखोज २०७७ वैशाख ११ गते ७:४२

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मध्य रातमा एकीकरण भएको छ । गएराति एकिकरण भएका यि दुई पार्टीले नयाँ नाम ‘जनता समाजवादी पार्टी’ दिएका छन् । अहिले समाजवादीले प्रयोग गर्दै आएको झण्डालाई प्रयोगमा ल्याउने र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति भएको छ। यद्यपि सामूहिक नेतृत्वमा रहेका यि दुबै पार्टी एक भएपछि नेतृत्वमा को रहने भन्ने औपचारकि जानकारी गराइएको छैन।

वार्तामा सहभागि एक नेताका अनुसरा समानताकै आधारमा नेतृत्व चयन गर्ने सहमति भएको छ । ‘नेतृत्व र वरियता क्रममा पहिलेदेखि नै सहमति भएको छ।’ उनले भने,‘तर तत्कालै सबै साथीहरुसँग छलफल हुन नसक्दा बुधबार राति नै नेतृत्वको घोषणा गर्न सकिएन।’

राजपाका नेता शरदसिंह भण्डारीको निवासमा भएको वार्तामा एकताका लागि सहमति भएको हो। सहमति अनुसार महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई क्रमसः वरियतामा रहनेछन।

यसैबीच, एकतासँगै असन्तुष्टी पनि देखिएको छ। पार्टी एकीकरण सम्बन्धी निर्णायक वार्तामा राजपा अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादव अनुपस्थित थिए।

उता समाजवादी पार्टीबाट उपाध्यक्ष रेणु यादव र काठमाडौं आइपुगेका अर्का उपाध्यक्ष एवं प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित थिए। उनीहरु एकीकरणबाट असन्तुष्ट रहेको बुझिएको छ।

दल विभाजन खुकुलो हुने गरी सरकारले अध्यादेश आएपछि दुवै पार्टीको विभाजन रोक्न राजपा र समाजवादीबीच हतार हतारमा एकताको गरिएको हो।

प्रतिक्रिया