युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन : जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै युक्रेनले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताए । उनले सम्बोधनमा युक्रेन स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए । जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको उल्लेख गरे । उनले अमेरिकी जनता र कङ्ग्रेसलाई सहयोग गरेकोमा धन्यवाद पनि दिए । उनले रुसी अत्याचारले नियन्त्रण गुमाएको भए पनि युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए ।
अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने बताए । उक्त सहयोगमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत समावेश छ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए । तेस्रो देशका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ ।
जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेज विश्वव्यापी सुरक्षाका लागि भएको लगानी हुने बताए । उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिंदै युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए । उनले युक्रेनले पूर्ण विजयु हासिल गरेर मात्र छाड्ने भन्दै मन्तव्य सकेका थिए ।
बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलर सहयोग गर्ने बाचा गरेका छन् । यसलाई संसदले स्वीकृति दिन भने बाँकी नै छ । बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा आवश्यक पर्दासम्मु अमेरिका युक्रेनसँग रहने बताए । तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन, ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने । जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन् ।
प्रतिक्रिया